Dabur

अलविदा कमरेड खगुलाल

सबै भन्दा पहिले जेष्ठ कम्युनिस्ट नेता खगुलाल गुरुङ प्रति हार्दिक श्रद्धासुमन Û आइतवार बिहान ७ वजे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममै १०४ वर्षको उमेरमा मृत्यु भएको उहाँका नाती विकास गुरुङले जानकारी दिनु भयो । 
कमरेड खगुलाल गुरुङको सम्पूर्ण जीवन देश, जनता, पार्टी र क्रान्तिका लागि समर्पित जीवन हो । वि.स. १९७५ साल भदौ २८ गते तत्कालीन बागलुङ जिल्लाको खरा (हाल प्यूठान जिल्ला अन्तर्गतकै रजबारामा गाविसमा पर्ने) मा उहाँ जन्मिनु भएको थियो र पछि गौमुखी गाउँपालिका–७ कैरामा बसाइँ सर्नु भएको थियो । उहाँको सम्पूर्ण जीवन कालमध्ये विगत ६९ वर्षको जीवन देश र जनता तथा पार्टी र क्रान्तिका लागि समर्पित र सङ्घर्षको जीवन हो । 
२००७ सालको निरङ्कुश राणा शासनका विरुद्धको सङ्घर्षका साथै उहाँको राजनीतिक जीवन सुरू भयो । त्यस सङ्घर्षका क्रममा उहाँले प्यूठान, सल्यान, नेपालगञ्ज सहित कैयौँ जिल्लामा निरङ्कुश शासनको अन्त्यका लागि सशक्त सङ्घर्षमा सहभागी हुनु भयो । २०१० सालमा उहाँको जीवनमा महत्वपूर्ण मोड आयो । उहाँ २०१० सालमा प्यूठानको विजयनगर (रातामाटा)मा प्रगतिशील अध्ययन मण्डलद्वारा सञ्चालित तिन महिने जनता शिक्षण शिविरमा सामेल हुनु भयो । त्यहाँको त्यस शिविरमा उहाँ शारीरिक प्रशिक्षक हुनु हुन्थ्यो । त्यसै बेला (२०१० साल मङ्सिरमा मा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी प्यूठानको उहाँ एकज ना संस्थापक सदस्य हुनु हुन्थ्यो । त्यही बेला प्यूठानमा स्थापित भएको अखिल नेपाल किसान सङ्घ, प्यूठानको पनि उहाँ संस्थापक सदस्य हुनु हुन्थ्यो ।
त्यही शिविरको बेला वा कम्युनिस्ट पार्टी र अखिल नेपाल किसान सङ्घको स्थापनाका साथ नै प्यूठानमा किसान आन्दोलनहरू सुरू भए । सर्वप्रथम त्यो किसान आन्दोलन नारीकोटमा सुरू भयो, जो फागुन २४ गतेको किसान आन्दोलनका नामले प्रसिद्ध छ । त्यो ऐतिहासिक आन्दोलनको उहाँ एउटा प्रमुख नेता हुनु हुन्थ्यो । त्यसपछि जिल्लाव्यापी रूपमा किसान आन्दोलनको आँधी नै आयो । ती सबै किसान सङ्घर्षमा का. गुरुङ अग्रपङ्क्तिमा रहनु हुन्थ्यो । उहाँको व्यक्तित्व र कार्यशैली यति धेरै जुझारू थियो कि सबै सामन्त र जाली फटाहा काँप्दथे ।
प्यूठानमा पार्टीको स्थापनापछि उहाँ पार्टी र किसान सङ्घका कैयौँ कार्यक्रममा सामेल हुनु भयो । त्यसै सिलसिलामा उहाँ २०११ सालमा पाल्पाको झडेवामा भएको पश्चिम गण्डक प्रान्तीय सम्मेलन तथा जनकपुरमा भएको अखिल नेपाल किसान सङ्घको राष्ट्रिय सम्मेलनमा सामेल हुनु भयो ।
प्यूठानको किसान आन्दोलनपछि जिल्लाका जाली फटाहा र सामन्तहरूले का. गुरुङ समेत किसान आन्दोलनका नेता र कार्यकर्ताहरूका विरुद्ध झुटा मुद्दाहरूको ओइरो लगाएर उहाँ समेत किसान आन्दोलनका कैयौँ नेताहरूका विरुद्ध बारेन्ट काटियो । त्यसपछि प्यूठानमा प्रशासनको भ्रष्टाचार र दमनका विरुद्ध नेपाली काङ्ग्रेससित समेत मिलेर संयुक्त आन्दोलन चल्यो । त्यस आन्दोलनका सिलसिलामा विरोध प्रदर्शन गर्न खलङ्गा जानका लागि बाग्दुलामा बास बसेको बेलामा मोहनविक्रम सिंह, रूमबहादुर पाण्डे, नन्दलाल गुरुङ, सिद्धिमान सिंह र नेपाली काङ्ग्रेसका हेमराज पण्डित सहित उहाँ गिरफ्तार हुनु भयो । गिरफ्तार राजबन्दीले जेलमा हुने अन्यायका विरुद्ध सङ्घर्ष सुरू गरेपछि अन्य कतिपय साथीसहित का. गुरुङलाई पाल्पा जेल चलान गरियो । पाल्पा जेलमा छँदासम्म पनि उहाँले त्यहाँ जेलभित्र हुने अन्याय, अत्याचार र ठगीका विरुद्ध लगातार सङ्घर्ष गरिरहनु भयो । त्यसपछि उहाँहरूलाई पुनः प्यूठान जेलमा चलान गरियो र प्यूठानबाट पुनः सल्यान जेल चलान गरियो । त्यहाँबाट गिरफ्तार सबै ६ जना राजबन्दीलाई २०१३ सालको कात्तिकमा जेलमुक्त गरियो । त्यसपछि छिट्टै काठमाडौँमा भएको पार्टीको दोस्रो महाधिवेशनमा अन्य साथीसहित उहाँले प्यूठानबाट पार्टीको प्रतिनिधिका रूपमा भाग लिनु भएको थियो । 
सल्यान जेलबाट छुटेपछि उहाँले अन्य कतिपय साथी सहित अहिलेको रोल्पाको थवाङमा पुगेर पार्टी र किसान सङ्घको स्थापना गर्नु भयो । २०१५ सालको संसदीय चुनावमा उहाँ क्षेत्र नं. ८३ बाट उम्मेदवार बन्नु भयो । क्षेत्र नं. ८३ मा त्यस बेलाका बाइसखुवा र कालाशेष थुम वा अहिलेको रोल्पा जिल्ला पर्दथ्यो । त्यही बेला नै उहाँले थवाङमा पार्टीको बलियो सङ्गठनको आधार निर्माण गर्नु भयो । यद्यपि उहाँ उक्त चुनावमा पराजित हुनु भयो, तर थवाङ पार्टीको लौहकिल्लाका रूपमा निर्माण भएर दृढतापूर्वक अघि बढ्यो ।
२०१७ सालमा देशमा निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही शासनको स्थापना भएपछि पार्टीमाथि प्रतिबन्ध लाग्यो । पार्टीको तृतीय महाधिवेशनपछि पार्टी केन्द्रको विघटन भयो र पार्टी कैयौँ टुक्रामा बाँडियो । केन्द्रमा नेतृत्व दिने कुनै नेतृत्व बाँकी रहेन । त्यस विषम परिस्थितिमा गाउँका जनताले धेरै कर गरेपछि उहाँ प्रधान पञ्चमा उठ्नु भयो र विजयी पनि हुनु भयो । तर प्रधान पञ्च बनेपछि पनि सामन्त र जाली फटाहाका विरुद्ध उहाँले वर्गसङ्घर्ष चलाइ रहनु भयो । त्यसैले पञ्चायतमा उहाँ लामो समयसम्म टिक्न सक्नु भएन । पञ्चायतमा सामेल भएका प्यूठानका अन्य धेरै कम्युनिस्ट कार्यकर्ता पञ्चायती व्यवस्थामा नै बिलाउँदै गए । तर का. गुरुङ लगायत पार्टीको भूमिगत सङ्गठन र पञ्चायती व्यवस्था विरोधी सङ्घर्षका कार्यक्रममा सक्रिय भई रहनु भयो । प्यूठानमा चल्ने सबै सङ्घर्षमा उहाँ रात–दिन जहाँ पनि पुग्नु हुन्थ्यो । २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि चलेका सबै आन्दोलनमा उहाँको सक्रिय भूमिका रहन्थ्यो ।पछि २०५९ सालमा देशमा पुनः निरङ्कुश राजतन्त्रको स्थापना भएपछि चलेका सङ्घर्षमा पनि उहाँको सक्रिय सहभागिता रहने गयो ।
शारीरिक रूपले हिडडुल गर्न असफल भएर बिस्तारामा पल्टेपछि पनि कम्युनिस्ट पार्टी माथिको उहाँको आस्थामा कुनै कमी आएन । उहाँले कम्युनिस्ट आन्दोलनबारे कहाँ के भइरहेको छ ? त्यो जान्नका लागि सधैँ उत्सुकता प्रकट गर्नु हुन्थ्यो । कम्युनिस्ट आन्दोलनसित सम्बन्धित पुस्तक, पर्चा लगातार पढिरहनु हुन्थ्यो । उहाँले कान कम सुन्नु हुन्थ्यो । तर चश्मा नलगाई सानो अक्षर पनि पढ्न सक्नु हुन्थ्यो । पढ्नका लागि उहाँलाई कहिल्यै चश्मा लगाउनु परेन । उहाँले कम्युनिस्ट आन्दोलनसित सम्बन्धित पुस्तक÷पत्रिका लगातार पढिरहनु हुन्थ्यो वा साथीसित मगाइ रहनु हुन्थ्यो । त्यस वाहेक उहाँले लगातार देशका वा गाउँघरका विभिन्न समस्या तथा आफ्नो जीवनका संस्मरणबारे लगातार लेख्ने काम पनि गरिरहनु हुन्थ्यो । यसरी उहाँले लेखेका थुप्रै सामग्री अहिले पनि सुरक्षित छन् । शारीरिक रूपले एकदम अशक्त भएपछि पनि कमरेड गुरुङले निरन्तर देखाउने उत्सुकता त्यस प्रकारको उत्साहले वास्तवमा उहाँमा उच्च रूपमा रहेको कम्युनिस्ट आन्दोलनप्रतिको आस्था, निष्ठा र जीवनत शक्तिलाई नै बताउँछ ।
कमरेड खगुलाल वास्तवमा नेपालको कम्युनिस्ट आन्दोलनको एउटा जीवित साक्षी तथा क्रान्तिकारी सिद्धान्त र आदर्शको एउटा प्रतिरूप हुनु हुन्छ । उहाँ एउटा त्यस्तो इतिहास पुरूषका रूपमा  स्थापित हुनु भएको छ । जसको कम्युनिज्ममाथिको आस्था र विश्वासमा कहिल्यै कमी आएन । उहाँको जीवन कालमा विश्वको कम्युनिस्ट आन्दोलनमा धेरै उथलपुथल भए । समाजवादका कैयौँ किल्ला र पार्टी ढले । त्यसको असर नेपालमा पनि प¥यो । कैयौँ कम्युनिस्ट नेताहरूले विचलन वा पलायनको बाटो समाते । स्वयम् प्यूठानका उहाँसँगै काम गरेका कैयौँ कम्युनिस्ट नेताहरू कम्युनिस्ट पार्टीबाट अलग वा निस्क्रिय हुँदै गए । तर संसारमा, नेपालमा वा उहाँको आफ्नै जिल्लामा देखिएका त्यस प्रकारका विचलन वा पलायनको बीचमा पनि खगुलाल गुरुङ कहिल्यै ढल्नु भएन । उहाँ कहिल्यै निराश हुनु भएन र कहिल्यै विचलन वा पलायनको बाटो समात्नु भएन । उहाँ सधैँ एउटा लौह स्तम्भ जस्तो भएर उभिइरहनु भयो । उहाँको जीवनको यो पक्ष नै सबैभन्दा महत्वपूर्ण पक्ष हो र यसबाट नै हामीले धेरै कुरा सिक्नु पर्दछ ।
उहाँको जीवनको सबैभन्दा महत्वपूर्ण र उल्लेखनीय पक्ष यो हो कि उहाँ जीवनभरि नै समाजलाई बदल्न र समाजमा विद्यमान अन्याय, अत्याचार, शोषण र उत्पीडनको अन्त्य गर्न तथा एउटा सुखी तथा उन्नत समाजको निर्माणका लागि सङ्घर्षरत भइ रहनु भयो । उहाँको कार्यस्थल प्यूठान थियो । तैपनि उहाँले जुन प्रकारको आदर्श कायम गर्नु भएको छ, क्रान्तिकारी सिद्धान्त, उद्देश्य र आदर्शका लागि अटुट रूपले र दृढतापूर्वक सङ्घर्ष गर्ने जुन इतिहासको निर्माण गर्नु भएको छ, त्यसले देशका सबै कम्युनिस्टलाई शिक्षा र प्रेरणा दिन्छ । खास गरेर आज विश्व स्तरमा र नेपालमा पनि कम्युनिस्ट आन्दोलनमा व्यापक रूपमा देखा परेका विचलन र त्यसले गर्दा कम्युनिस्ट आन्दोलनमा देखा परेका अविश्वास, आशङ्का र निराशाको पृष्ठभूमिमा जीवनभरि नै बिना कुनै स्वार्थ क्रान्तिकारी सिद्धान्त, उद्देश्य वा आदर्शका लागि दृढतापूर्वक उभिइरहने उहाँको चरित्रले हामीलाई सदैव प्रेरणा दिन्छ ।
जुन बेला उहाँ कम्युनिस्ट पार्टीमा सामेल हुनु भयो, त्यस बेला देशमा एउटै कम्युनिस्ट पार्टी थियो । आज त्यो कम्युनिस्ट आन्दोलन कैयौँ कित्तामा बाँडिएको छ । तैपनि यो खुसीको कुरा हो कि उहाँको सम्मान गर्न वा उहाँको अभिनन्दन गर्न नेपालका सबै कम्युनिस्टहरु उत्साहित पूर्वक सहभागि भएकोपनि हामीले ४ वर्ष अगाडि देखेका थियौं । वास्तवमा उहाँको आदर्श र सङ्घर्षशील व्यक्तित्वलाई स्मरण गर्ने हो भने नेपालका कम्युनिस्ट पार्टीलाई टुटफुट र विभाजन त्यागेर एकताका लागि प्रेरित गर्दछ । देशमा उपस्थित सङ्कटको सामना गर्नका लागि सबै कम्युनिस्ट पक्षको बीचमा एकताबद्ध भएर काम गर्ने वातावरण तयार पार्न सक्यो भने त्यो नै कमरेड गुरुङप्रतिको उच्च सम्मान हुनेछ । जनताको मनबाट ओझेल पर्न नसक्ने गरी भौतिक शरिरको अन्त्य भएको दुःखद क्षणमा कमरेड गुरुङलाई हार्दिक श्रद्धाञ्जली, शोकाकुल कम्युनिस्ट पार्टी परिवार तथा गुरुङको व्यक्तिगत घर परिवारमा हार्दिक समवेदना Û


सम्बन्धित खबर

शिक्षकमाथि राज्यको विभेद र अबको शिक्षक अन्दोलन

हुने पेसामा संलग्न शिक्षकहरूलाई समयसमयमा निरन्तर तालिमको व्यवस्था हुनुपर्छ त्यो व्यवस्था राज्यले गरेको छैन । यसमा ध्यान नै दिएको छैन । ८÷१० वर्षमा कुनै शिक्षकले एकपटक जिल्लाबाहिर गएर तालिममा सहभागी भयो भने उसले तालिममा सहभागी भएवाफत् पाउने...

प्यारा नानीबाबुहरू

प्रिय बालबालिकाहरु बालमैत्री अभिवादन, सर्वप्रथम त बालदिवसको अवसरमा सम्पूर्ण बालबालिकाहरुलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। मानव जीवनको प्रथम चरण बालबालिका हो।यो व्यक्तिको भविस्य निर्धारण गर्ने अवस्था भएकाले यसलाई एउटा काचो माटो...

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रेम विश्वकर्मा

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेराश्ववियु क्रान्तिकारी)को जिल्ला समन्वय कमिटि प्युठानका अध्यक्षमा प्रेम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । आइतवार जुम्रीमा भ...

अखिल क्रान्तिकारी प्यूठान–काठमाण्डौं सम्पर्क मञ्चको सम्मेलन

प्युठान, अखिल क्रान्तिकारी प्यूठान–काठमाण्डौं सम्पर्क मञ्चको सम्मेलन शनिवार सम्पन्न भएको छ । सम्पर्क मञ्चको छैठौ सम्मेलनले समुन्द्र गिरीको अध्यक्षतामा नया कमिटी गठन गरेको छ । जसको उपाध्यक्ष संयोग कक्षपति, उपाध्यक्ष सन्तोष बस्नेत, सचिब नबिन...

अखिल क्रान्तिकारी झिम्रुकको अध्यक्षमा महतरा

प्युठान जिल्लाको झिम्रुक गाउँपालिकामा अनेरास्ववियु क्रान्तिकारीको गाउँपालिका स्तरीय संगठन कमिटी गरिएको छ । शुक्रबार भेला गरी २५ सदस्यीय कमिटी गठन गरिएको हो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका सचिवालय स...